कवि चौधरीको मारवाडी भाषाको ‘वसन्त’ को विमोचन तथा नेपाल मारवाडी भाषा–साहित्य सम्मेलन सम्पन्न - Aksharang
  • २०७७ चैत २९ आइतबार

कवि चौधरीको मारवाडी भाषाको ‘वसन्त’ को विमोचन तथा नेपाल मारवाडी भाषा–साहित्य सम्मेलन सम्पन्न

मारवाडी सेवा समिति, विराटनगर र श्री लूनकरणदास–गङ्गादेवजी चौधरी साहित्यकला मन्दिरकोमा सह–आयोजनामा माघ ११ गते विराटनगरमा नेपाल मारवाडी भाषा–साहित्य सम्मेलन तथा मारवाडी पुस्तक विमोचन समारोह सम्पन्न भएको छ । सो समारोहमा कवि बसन्त चौधरीद्वारा सिर्जित तथा लक्ष्मण नेवटियाद्वारा अनूदित मारवाडी भाषाको कविता–सङ्ग्रह ‘वसन्त’ को विमोचन गरिएको थियो । ‘वसन्त’ को विमोचन प्रमुख अतिथि १ नं. प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले गरेका थिए । ज्ञातव्य छ– कवि चौधरीको मूल भाषा नेपालीमा सिर्जना भएको ‘वसन्त’ कविता–सङ्ग्रहका कवितालाई मारवाडीसँगै अङ्ग्रेजी, हिन्दी, नेपालभाषा, भोजपुरी, मैथिली, तामाङ र बङ्गाली गरी आठ भाषामा अनुवाद गरी यही नामले प्रकाशित गरिएको छ ।

सोही अवसरमा प्रदेश प्रमुख प्यासीले लक्ष्मण नेवटियारचित मारवाडी कविता–सङ्ग्रह ‘लक्ष्मण की मारवाडी कवितावां’ को पनि विमोचन गरेका थिए ।

मरवाडी भाषाको ‘वसन्त’ कविता–सङ्ग्रहमाथि टिप्पणी गर्दै सुप्रसिद्ध भाषाविद् बीएल माली अशान्तले ‘चौधरीको यस सङ्ग्रहका कविताले मारवाडी भाषा–साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसले मारवाडी भाषा–साहित्यको प्रचार–प्रसार र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे । जयपुर भारत निवासी अशान्तका राजस्थानी भाषा, साहित्य, इतिहास, संस्कृतिसम्बन्धी तीन दर्जनजति कृति प्रकाशित छन् ।

सोही अवसरमा कवि नेवटियाद्वारा रचित मारवाडी कविता–सङ्ग्रह ‘लक्ष्मण की मारवाडी कवितावां’ टिप्पणी गर्दै कल्याणसिंह शेखावतले यस सङ्ग्रहका कविताले मारवाडी भाषा–साहित्यको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।

समारोहमा विशिष्ट अतिथि उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्री मोती दुगड, प्रदेश सभासद् ओमप्रकाश सरावगी, विशेष अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कवि एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, समालोचक दधिराज सुवेदी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष मोहनलाल शर्मा, नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी अध्यक्ष निर्मला जोशी, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनका अध्यक्ष वजरङ्ग अग्रवाललयागतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा मारवाडी भाषा समितिका संयोजक सुरेशकुमार शर्माले मारवाडी भाषामाथि एक कार्यपत्र प्रस्तुत गरेका थिए थिए ।

कार्यक्रममा मारवाडी भाषा–साहित्यका विभिन्न प्रकाशित कृति र अप्रकाशित कृतिहरूको पाण्डुलिपि पनि प्रदर्शनीमा राखिएको थियो ।
कवि बसन्त चौधरीले आफ्नो काव्यिक मन्तव्यका क्रममा ‘वसन्त’ लाई विभिन्न भाषामा अनुवाद गर्नुको तात्पर्यमाथि प्रकाश पार्दै भने– ‘वसन्त’ सकेसम्म धेरै पाठकहरूसम्म पुगोस् भन्ने मेरो इच्छा हो । तर कसरी ? यही प्रश्नको उत्तर थियो– यसलाई अनुवाद गर्नुपर्छ । विभिन्न नौ भाषामा प्रकाशित ‘वसन्त’ कवितासंग्रह यही सोचको परिणाम हो ।’

उनले अनुवादको महत्वमाथि थप प्रकाश पार्दै भने– ‘वास्तवमा भन्ने हो भने, अनुवाद त्यो सेतु हो, जसले हामीलाई साहित्यिक आदान–प्रदान, भावनात्मक एकता, भाषा–संवर्धन, दुई वा दुईभन्दा बढी भाषा–साहित्यको तुलनात्मक अध्ययन र राष्ट्रिय सद्भावको अवधारणालाई बलियो तुल्याउने माध्यम बनाउँछ । हरेक बहुभाषी देशहरूमा एउटा भाषामा रचिएको कृति अर्को भाषामा अनुवाद गर्नु साहित्यलाई अझ बढी समृद्धशाली बनाउने कार्यका रूपमा लिइन्छ ।’

प्रस्तुत छ– सो समारोहमा कवि बसन्त चौधरीद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश–
मानिस जन्मिन्छ, मर्छ । तर उसको महानता उसको जीवनप्रतिको आकर्षणमा रहेको हुन्छ । त्यो जिजीविषा नै हो, जसले मानिसलाई जीवनमा सधैँ बाँच्ने चाहनाका साथ कर्ममय जीवनको कामना गराउँदछ । यही जिजीविषाले उसलाई जीवन, जगत्, मनका भावना र समस्याहरूलाई विभिन्नरूपमा अभिव्यक्त गर्न लगाउँछ । अभिव्यक्तिको यही महान् रूप सिर्जना भनेर चिनिन्छ । मान्छे छ भने अभिव्यक्ति पनि छ, अभिव्यक्ति छ भने सिर्जना छ, सिर्जना छ भने मनुष्यलाई मानवको दर्जामा उकाल्ने कला छ । मैले जीवनमा बुझेको, जानेको र सिकेको कुरा यही नै हो ।

घाम–छायाँ सुख–दुख आँसु–हाँसो र अँध्यारो–उज्यालोको सङ्गम हो, जीवन । विद्धान्हरूले भनेका यी कुरा प्रत्येक मान्छेको जीवनको वास्तविकता हो । मेरो जीवन पनि त्यसको अपवाद होइन । जीवनको विवधताका कारण त्यो भोगाइ केही फरक स्वरूपको हुनसक्छ । त्यो फरक वा साम्य के–के रहेछन् त भनेर आज आफ्नो सुदूर जीवनलाई हेर्न खोजिरहेछु ।

त्यहाँ म देखिरहेको छु, कहिले उज्यालो घाम थियो, असह्य ताप पनि थियो, शीतल छायाँ थियो तर त्यसको घनत्वले केही अन्धकार पनि दिन्थ्यो । आँसु–हाँसोका साथ चित्कार पनि मिसिन्थ्यो । त्यसैगरी अँध्यारोले मलाई टुकी बाल्ने प्रेरणा पनि दिन्थ्यो, उता जीवन–जगत् दृश्यमान हुन्थ्यो भने, कहिलेकहीँ भड्किने भय पनि दिन्थ्यो ।

यी सारा झेल्दै–पन्छाउँदै, हिँड्न नछाड्दै आज यहाँसम्म आइपुगेको छु । यद्यपि कहाँसम्म भनेर सोध्यो भने, म स्पष्ट भन्न सक्दिनँ । यति मात्र भन्न सक्छु, मेरो जीवन मातापिताको आशीर्वाद शिरमाथि थापेर हिँडेको छ । त्यसकारण मेरो यात्रा निर्विघ्न चलिरहेको छ, चलिरहने छ । यात्राले नै गन्तव्यमा पु-याउँछ । म गन्तव्यमै पुगेको त छैन, तर गन्तव्यतिर हिँडिरहेको छु, हिँडि नै रहने छु ।

साहित्य–सिर्जना गर्दा म आफुलाई बिर्सन्छु, तन्मय हुन्छु, लीन हुन्छु । त्यसबखत व्यावसायिक बसन्त चौधरी विलीन हुन्छ र बाँकी रहन्छ एक संवेदनशील, प्रकृति–प्रेमी, मानवीय भावको कवि, जो देश र दुनियाँलाई प्रेमै प्रेम र मानवतै मानवता बाँड्न चाहन्छ । मेरो सारा कवितामा विविधता छन्, तर तिनमा कुनै स्थायी भाव खोज्ने हो भने, त्यो प्रेम मात्र होे ।

जब हामी साहित्यसँग सम्बन्धित केही लेख्दछौं, हाम्रो इच्छा हुन्छ कि त्यो सकेसम्म धेरै पाठकहरू समक्ष पुगोस् । तर हरेक परिवेशमा यो सम्भव नहुन सक्छ, किनभने हरेक व्यक्ति हरेक भाषामा निपुण हुँदैनन् । त्यसैले गर्दा आमपाठक अन्य भाषामा रचित साहित्यमा समाहित हुन अथवा त्यसको भावको गहिराइमा डुबुल्की मार्न सक्दैनन् ।

एकजना पाठक तथा साहित्यकारका लागि सबै भाषाहरू सिक्न सम्भव पनि छैन । तर जब तपाईं आफ्नो मातृ–भाषामा कुनै कृति पढ्नु हुन्छ, तपाईं त्यस कृतिको भावको गहिराइमा सजिलै डुब्न सक्नुहुन्छ ।

मेरो कविता–सङ्ग्रह ‘वसन्त’मा मलाई पनि मनपर्ने कविताहरू सङ्ग्रहित गरिएको छ । ‘वसन्त’ सकेसम्म धेरै पाठकहरूसम्म पुगोस् भन्ने मेरो इच्छा हो । तर कसरी ? यही प्रश्नको उत्तर थियो– यसलाई अनुवाद गर्नुपर्छ । विभिन्न नौ भाषामा प्रकाशित ‘वसन्त’ कविता–सङ्ग्रह यही सोचको परिणाम हो ।
वास्तवमा भन्ने हो भने, अनुवाद त्यो सेतु हो, जसले हामीलाई साहित्यिक आदान–प्रदान, भावनात्मक एकता, भाषा–संवर्धन, दुई वा दुईभन्दा बढी भाषा–साहित्यको तुलनात्मक अध्ययन र राष्ट्रिय सद्भावको अवधारणालाई बलियो तुल्याउने माध्यम बनाउँछ । हरेक बहुभाषी देशहरूमा एउटा भाषामा रचिएको कृति अर्को भाषामा अनुवाद गर्नु साहित्यलाई अझ बढी समृद्धशाली बनाउने कार्यका रूपमा लिइन्छ ।

नेपाल विविध भाषा र संस्कृतिहरूले भरिपूर्ण देश हो । त्यसैले यहाँ पनि एउटा भाषामा रचिएको साहित्यिक कृति अर्को भाषामा अनुवाद गर्नु साहित्यका पाठकका लागि महत्वपूर्ण कार्य हो । तर अनुवाद यति सजिलो काम भने होइन । गद्य अनुवाद केही हदसम्म सजिलो हुनसक्ला, तर कविता वा पद्य अनुवाद अत्यन्त गा-हो विषय हो ।
यिनै जटिलताको बीचमा ‘वसन्त’ को नेपाली, अङ्ग्रेजी, हिन्दी, नेवारी, भोजपुरी, मैथली, तामाड र बङगाली गरी जम्मा आठ भाषाहरूमा अनुवाद सम्पन्न भयो । यसै क्रममा मलाई लाग्यो कि ‘वसन्त’ लाई किन म आफ्नै पैतृकभाषा ‘मारवाडी’मा अनुवादन नगरौँ र ‘वसन्त’लाई मारवाडी भाषामा अनुवाद गर्ने निर्णय भयो ।

अनुवादका लागि सोच्नेबित्तिकै मस्तिष्कमा आएको पहिलो नाम थियो– पूर्वका साहित्यिक नक्षत्र श्री लक्ष्मण नेवटिया । नेवटियाजी आफैँ एक प्रसिद्ध लेखक मात्र हैन, आफैँमा एक संस्था हुनुहुन्छ । साहित्य जगत्मा उहाँको फरक पहिचान छ । यति मात्रै होइन, विराटनगर क्षेत्रका बुद्धिजीवीबीचमा उहाँको स्थान झनै महत्वपूर्ण छ । जब मैले अनुवादका लागि उहाँलाई प्रस्ताव गरेँ, उहाँले खुसी–खुसी मेरो प्रस्ताव स्वीकार गर्नुभयो र आफ्नो व्यस्त समयबाट अनुवादको लागि समय निकाल्नु भयो । त्यसपछि मात्र त्यो गाह्रो काम सम्भव भयो र मेरो आकांक्षा पूरा भयो ।

आज लक्ष्मणजीकै कारण यो कृतिले मारवाडी मातृभाषीहरूका बीचमा परिचित हुने सौभाग्य पाएको छ । मूल लेखकको भावना र अपेक्षालाई अनुवादमा उतार्न सक्नु नै अनुवादकको खुबी हो । भाषिक ज्ञान, विषयगत ज्ञान, अभिव्यक्ति कौशल, व्यक्तिगत गुणजस्ता परिधिभित्र रहेर अनुवादकले आफ्नो कौशलता देखाउनुपर्ने हुन्छ । यस्तो जटिल कार्य सम्पादनमा सफल हुनुभएकोमा म लक्ष्मणजीप्रति आभार व्यक्त गर्न चाहन्छु ।

आज हामीबीच राजस्थानी भाषा साहित्यका चर्चित एवम् लोकप्रिय साहित्यकारहरू उपस्थित हुनुहुन्छ । आफ्नै प्रतिभाको दीप्तिले उज्यालिएका उहाँहरूको परिचय र योगदानको चर्चा गरिरहनु आवश्यक छ जस्तो मलाई लाग्दैन । उहाँहरू स्वयंमा एक संस्था हुनुहुन्छ । म उहाँहरू, श्री बी. एल. माली अशान्तज्यू तथा श्री कल्याणसिंह शेखावतज्यूलाई हार्दिक नमन गर्दै अभिवादनसहित सम्मान गर्न चाहन्छु । उहाँहरूको उपस्थितिले यो मञ्च स्वयम् सम्मानित भएको अनुभूति गरेको छु ।

आफ्नो मन्तव्य अन्त्य गर्नुअघि म आजका हाम्रा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू तथा सम्पूर्ण आयोजक मित्रहरूमा आत्मादेखि नै आभार व्यक्त गर्दछु ।

अन्त्यमा, संसारमा सुख सबै खोज्दछन् । सुख खोज्ने तरिका फरकफरक हुनसक्छ । सुख र खुसीको अन्तर नजानेर पनि मानिस, क्षणिक खुसीलाई समेत सुख ठान्दछन् । वाह्य सुखका लागि भौँतारिन्छन्, शान्ति नहोस् तर सुख होस् भन्ने चाहन्छन्, जुन असम्भव छ । हामीले शाश्वत सुखको खोजी गर्न सक्नुपर्दछ, यस्तो मलाई भित्रैदेखि लाग्दछ । यो सुख बाहिर छैन, आफैँ भित्र छ ।
मन्तव्यसँगै कवि चौधरीले यस सङ्ग्रहको एउटा कविता पनि पाठ गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।