समयको चक्रव्यूह - Aksharang
  • २०७७ चैत २९ आइतबार

समयको चक्रव्यूह

शिरीष रानाभाट

शिरीष रानाभाट

समयको चक्रव्यूहमा
फँसेका छौँ हामी
अनि हाम्रो देश ।

आलो रगतले भिजेको भूमि छ
छ काँचुली फेरिएको समाज
घृणा र द्वेषहरूको पहिरोमा
पुरिएका गुमनाम जिन्दगी
अलिकति सास फेर्न पाउने आसमा
छटपटाउँदै छन्
आफ्नै माटोको थिचाइमा ।

तोडिएका धेरै मनमा हाम्रा
छाएको छ निराशाको कालो बादल
गन्तव्यमा पु¥याउने
विकराल बाटोहरूमा
घुँडा टेकाउनेको जमात छ
अनि टेक्नेको लर्को छ
र, बन्धक बनेको छ हाम्रो स्वाभिमान ।

चर्केर चिराचिरा भएका पीडा छन्
थाकेर लखतरान परेका छन्
दह्रिला हात–खुट्टा

पौरखी पाखुरा पनि
आहत छन्
यी अडिग मन
अनि विसङ्गतिसँग भिड्दा
घाइते भएका यी जिजीविषा पनि ।

आपसी भेदभाव बढ्दो छ
अनि पराईको प्रभाव पनि
आ–आफूमा मौलाउँदो अनमेल छ
छाउँदो छ निराशाको कालो बादल
रातो र चन्द्र–सूर्यमुनि सैयौँ फूलका
एउटै माला बन्ने चाहना हाम्रो
बनेको छ मृगतृष्णा ।

बुझौँ–
सकिन्छ समयको चक्रव्यूह तोड्न
फगत देश सम्झे पुग्छ
फगत देश बुझे पुग्छ ।