किशोर मनको सपना - Aksharang
  • २०७७ फागुन १९ बुधबार

किशोर मनको सपना

बसन्त चौधरी

अस्पतालको प्राङ्गणमा उभिएको उसका दुवै हात कम्मरपछाडि थिए । मन्द मुस्कानसहित उभिएर हेरिरहेको उसलाई अस्पतालमा आउने कसैकसैले चिने पनि धेरैले चिनेनन् होलान् । ऊ विशाल अस्पतालको प्राङ्गणअगाडि उभिएर त्यहाँ हुने गतिविधि हेरिरहेको छ । उसलाई यसरी हेर्दा लाग्थ्यो, ऊ कुनै मन्दिरअगाडि भगवानसामु उभिएको छ र प्रियजनलाई हेर्दैछ– स्नेह र प्रेमपूर्वक अनि भरिएको छ– श्रद्धा र प्रेमले हृदयदेखि नै । जसको दृश्यले उसको मनलाई सधैँ शीतलता दिन्छ, प्रेरणा दिन्छ । बिरामीको आहोरदोहोर । कोही आउँदै, कोही जाँदै । सबै हतारमा देखिन्छन् । यसरी छटपटि र पीडा बोकर आउने मानिसहरूको लहर कुनै नदी बगेजस्तो आभास हुन्थ्यो अस्पतालमा । कोही बिरामी सामान्य उपचारपश्चात् स्वास्थ्यलाभको वरदान बोकी हाँस्दै फर्कन्थे, कोही बाँच्ने आशामा धरखरिँदै भित्र पस्थे, । अनि कसैलाई उपचारले नछुँदा मृत्युवरण गरेर आफन्तजनलाई वेदनाका आँसु बोकाएर सदाका लागि बिदा हुन्थे । दुःख–सुख, मिलन–बिछोडको चौतारीजस्तै लाग्छ उसलाई अस्पताल । अझ भन्दा उसले आत्मादेखि स्वास्थ्यलाभको कामना गरी प्रार्थना गरेका मनहरू, आशाका किरण बोकेका आँखाहरू, स्वास्थ्यलाभले सन्तोष मानेका अनुहारहरू र पीडामा रसाएका नयनहरू हेर्दा जीवनका सबै रङहरूको एउटा संयोजनजस्तै लाग्छ अस्पताल उसलाई ।

तर सबैभन्दा सुखानुभूति उसलाई तब हुन्छ, जब बिरामी स्वस्थ्य भई हाँस्दैहाँस्दै घर फर्किन्छ र मनैमन डाक्टर या अस्पताललाई साधुवाद भन्दै स्वस्थ भविष्यको सपना च्यापेर फर्किन्छन् । बिरामीको आनन्दी र सौम्य मुस्कानले उसलाई ऊर्जा दिन्छ र सधैँ प्रोत्साहित गर्छ । उसको सधैँ एउटै कामना हुन्छ– उपचार गराउन आएका सबै बिरामीहरू स्वस्थ्य बनून् । किनकि उपचारपश्चात् हाँस्दै फर्किएको बिरामी देख्दा उसलाई गर्व लाग्छ, स्वर्गीय अनुभूति हुन्छ आफ्नो जीवन सार्थक भएको आभास हुन्छ । ती मृदुल मुस्कानले ऊ तृप्त बन्छ साउनको धर्तीजस्तै । उसका आँखाअगाडि उभिएको यस्ता सपनाहरू हेरेर ऊ कहिल्यै थाक्दैन । यद्यपि यो सपना साकार गर्न उसले धेरै नै सङ्घर्ष र त्याग गरेको थियो ।

जीवनको किशोर बेलामा ऊ अस्वस्थ्य भएको थियो झन्डै ३५ वर्षअगाडि । बिरामी परेको छोरालाई उपचारार्थ बुबा–आमाले छिमेकी राष्ट्रको एउटा अस्पतालमा लिएर गएका थिए । किशोर अवस्थाको अस्वस्थ छोरा अनि परदेशको बिरानो ठाउँ । बिरामी हुनेलाई शारीरिक पीडा त हुने नै भयो, त्यसमाथि बिरामी सन्तानका बा–आमाको मनस्थितिको झन् के कुरा ! सायद कुनै पनि अभिभावकलाई त्योभन्दा सीमान्त पीडा अरू केही हुन्न । त्यसबेला अस्पतालमा उसले सहज तरिकाले उपचार गर्न पनि पाएन । उसको उपचारका लागि बा–आमाले गरेको त्यो प्रयास र दुःखको साक्षी ऊ मात्र छ सायद । यस दुसाध्य अवस्थाको साक्षात्कारले उसको अन्तस्करणसम्म छोएको थियो र झकझकाएको थियो उसको आत्मालाई । अस्पताल–प्रशासनको व्यवहार, उपचारका क्रममा आइपरेका अनेकौँ समस्या र लाचारीले उसलाई बिरामी अवस्थामै दृढ बनायो । बिरामी तन, निराश्रित मन र बा–आमाको पीडा– त्यस अवस्थाको अनुभूति उसले मात्र गर्नसक्छ । कठिनतम परिस्थितिको त्यस समय–खण्डमा उसको हृदयको भित्री तहसम्म सुइरोले जस्तै घोच्यो अनि हृदयको जमिनमा समयले एउटा दृढ सङ्कल्पको बीउ रोप्यो– म एउटा अस्पताल जसरी पनि खोल्छु । बिरामी तन र मानसिकताभित्र दृढ बनेको उसको मनको अभिलाषा सम्झँदा अहिले पनि उसलाई आश्चर्य लाग्छ– के ऊ त्यो सपनाको कारक थियो त !

तर समय कसैको पेवा हुन्न । सपना पनि त्यस्तै हो । जीर्ण शरीर अनि किशोर मनको जमिनमा उम्रिएको सपनाको त्यो सानो बीउ आज विशाल अस्पतालरूपी वटवृक्ष भएर फैलिएको । त्यो सदाकाल हरभरा छ, स्वस्थ र सुन्दर छ ।

त्यही साकार आफ्नो सपनालाई ऊ पटकपटक नजिकबाट नियाल्छ, छाम्छ र माया गर्छ । किनकि त्यो सपनासँग उसका कैयौँ भावनात्मक सम्वन्धहरू जोडिएका छन्, तीता–मीठा स्मृतिहरू गाँसिएका छन् । तिनले वात्सल्य, ममता र आदर्श बनेर उसलाई हौसला दिन हरपल झकझकाएका छन् ।

उपचारका क्रममा परदेशको ठाउँ, कठिनाइहरू धेरै आए । अस्पतालले बिरामी छोरालाई भर्ना गर्न नमान्दा बाले अस्पताल प्रशासनसँग हात जोडेर अनुनय गर्नुपरेको थियो । धेरै बिन्ती गरेपछि बल्लबल्ल रगतका टाटाले रङ्गिएको ओच्छ्यानमा उसले भर्ना पाएको थियो । बिरामी छोराको पीडामा चिन्तित बा–आमाको मनस्थिति उसले देखेको र बुझेको थियो नजिकबाट । त्यस बेला उनीहरू कति लाचार र निरीह भएको थिए । आखिर बाको स्नेह र आमाको ममत्वले सन्तानको स्वास्थप्रतिको जिद्धीपूर्ण प्रार्थनाको अघि रोगले घुँडा टेक्नुप¥यो । त्यही दौरान आमाले रुखको फेदमा खाना बनाउँदै खुवाएकी थिइन् । हरपल उनको मन छोराको स्वास्थ्यका लागि ईश्वरको प्रार्थनामा लीन हुन्थ्यो । ममत्वले भरिएको, पीडाले छटपटिएको, मायाले पूर्ण ।

रुखको फेदमा पकाउन पनि कहाँ सजिलो थियो र ! हावाहुरी, पानीघाम । यस्तो प्रतिकूलतामा पनि आमाले आफ्नो हातले त्यति दुःख गरेर पकाएर आफूलाई खुवाएको त्यो पलको स्मृतिले उसको गला सधैँ अवरुद्ध हुन्छ । खुवाउँथिन् त सधैँ अरू बेला पनि । तर पनि त्यो बेलाको खुवाइ र अरू बेलाको खुवाइमा फरक थियो । त्यो बेला पीडा र प्रार्थना पनि सँगै थिए, सन्ताप र असहायपन पनि सँगै थिए । बाको प्रयास र छटपटी आमाको स्नेह र स्याहार अनि ईश्वर–प्रार्थनाको त्यस घडीमा बिरामी भएर ऊ सुतेको थियो तर छटपटाहट र पीडा बा–आमामा थियो । अभिभावकको सन्तानप्रतिको पीडा कस्तो हुन्छ भन्ने कुरा त्यस बेला नै उसले महसुस गरेको थियो । मनमनमा लागिरहन्थो, मेरो बा–आमाको जस्तो निरीह अवस्था कसैका बा–आमाको नहोस् । यदि त्यसबेला ऊ बिरामी नहुँदो हो, बा–आमाले त्यस्तो दुःख नउठाउँदा हुन् त उसको मनमा यस्तो टिस लाग्ने थिएन । न त अस्पतालको सपना देख्थ्यो, न आज यसरी यस्तो तृप्तिको अनुभव नै गर्न पाउँथ्यो । आज उसको जीवनको सफलताकोे सारा श्रेय, सपनाको सम्पूर्ण सार्थकताको जस बा–आमालाई जान्छ । र, ती सहृदयीलाई जान्छ, जसको छत्रछायाँले उसको स्वास्थयलाभको जस्तै सपना साकार पारेको थियो । त्यस बेलाको बा–आमाको अवस्था सम्झँदा उसको मनमा लागिरहन्थ्यो– कुनै पनि बा–आमाले यस्तो दुःख पाउनु नपरोस्, न त सन्तानको उपचारका लागि यस हदसम्म छटपटिनु परोस् ।

उसै पनि उसलाई ठूलाठूला सपनाहरूले कहिल्यै दुःख दिएनन् । तर उसले अस्पतालको यो सपना बिरामी भएर अस्पतालमै सुतको बेला देख्यो । परिस्थिति र समयले देख्न बाध्य पारेको थियो । त्यो सपना र कल्पनाले उसलाई कहिल्यै छोडेन । उपचारपश्चात् ऊ बा–आमासँग घर फर्कियो । ऊ स्वस्थ बन्नु नै समयको ठूलो न्याय थियो, उपहार थियो उसका लागि । बाको आशिष, आमाको प्रार्थना स्वीकारेर ईश्वरले धन्य गरे उसलाई । दिनहरू आए, गए । ऋतहरू आए, गए । जीवनका केही जटिलताहरू पन्छाएर पूरा गरेको सपना त्यो अस्पताल, आज उसलाई आफ्नै अभिभावकझैँ लाग्छ । उपचारपश्चात् स्वदेश फर्किएपछि पनि किशोर मनले देखेको त्यो सपना समाजसेवाको भावसँगसँगै उद्देश्य बनेर मनमा बढिरह्यो । समय, प्रयास, प्रोत्साहन, उतार–चढाव, सपना र यथार्थको युद्धमा पनि त्यो हराएन र डराएन ।

सपनाले समय पर्खिरहेको थियो भने उसले अवसर । जीवन–यात्राको एउटा मोडमा उसले अस्पतालको सपनालाई पूर्णता दिन सहकार्यमा एउटा अस्पताल खोल्यो । यद्यपि सपनाले खुट्टा टेक्न नपाउँदै सहकार्य टुट्यो र क्लिनिकको सानो आयाममा त्यो खुम्चियो । सपना पूरा नहुनुमा पीडा हुँदैन तर टुक्रिनुमा ज्यादै पीडा हुन्छ । टुक्रिएको सपनालाई उसले यसै छाडेन । तर अस्पताल र क्लिनिक अनि क्लिनिक र अस्पतालसम्मको यात्रा भने सहज रहेन । जब पनि उसको सपना लरबराउन खोज्थ्यो– अस्पतालका आफ्ना मार्मिक बिरामीका ती दिनहरू उसलाई झकझकाउन आउँथे । आमा–बाका मुहारसँगै झलझली त्यो स्मृतिले सपनालाई अझ दृढ बनाउँथ्यो, अरू सङ्कल्प उठ्दथ्यो, मनमा आशीर्वाद भएर । सपनाविनाका आँखा हुँदैनन् र सपना देख्न कसैले कसैलाई रोक्न सक्दैन । तर ती सपना पूरा गर्न हिम्मत, लगन, धैर्य, मेहनत र दूरदृष्टि चाहिन्छ भन्ने कुरा उसका निजी अनुभवहरू हुन्– उसले जीवन भोगाइमा अनुभव गरेका । टुक्रिएको सपनालाई भुइँमा झर्न दिएन उसले, सपनालाई सधैँ माया गरिरह्यो । त्यसैले आज ऊ आफ्नो कर्मप्रति सन्तुष्ट छ, परिपूर्ण छ ।

क्लिनिकमा उसको मन रमाएन । सङ्कुचित भएको सपना हेरेर कतिपटक त मन पनि कुँडियो । समय आयो फेरि अस्पताल खोल्ने । त्यही दौरान उसले हस्पिटल सुरु ग-यो । एक हिसाबले भन्दा पैतृक प्राप्तिको प्रायः सबै लाभांश उसले अस्पतालमा खर्च ग-यो । उताबाट, यताबाट, जताबाट सकिन्छ, उसले जुटायो– उसले त्यसको रेखदेख ग-यो, महत्व र लक्ष त्यसैलाई बनायो । के गर्दा त्यसको जग बन्छ, उसले त्यही गर्ने कोसिस ग-यो । अन्ततः दरिलो गरी खुट्टा टेकायो । आज देशको उत्कृष्ट र विशाल अस्पतालको नाउँले उसको सपना चिनिन्छ । उसको सपनाले आज ऊसँग, समयसँग, धैर्य र संयमसँग गर्व गर्दछ । आमाले छोडेको त दशक भइसक्यो । कैयौँपटक आमाको कमी महसुस गरेको छ उसले । आमासँगै बसेर हेर्न मन लाग्छ उसलाई यो सपना । आमा भन्ने नाता शब्दमा वर्णन गर्न सक्दैन ऊ । जब आमा बिरामी भइन्, उसले त्यही अस्पतालमा उपचार गराएको थियो । केही दिन अस्पतालमै राखेर आमालाई उपचार गराउन पाएकाले उसलाई थोरै भए पनि आत्मसन्तुष्टि छ । त्यसैले पनि यो अस्पताल अहिले आमाजस्तै पवित्र लाग्छ, प्रिय लाग्छ उसलाई ।

जीवनको यस मोडमा, उतार र चढावका आयाममा, जीवनले धेरैवटा कोल्टे फे-यो, धेरै कुरा देख्यो र भोग्यो, सिकायो र गुमायो । कति कुरा फर्किदैनन्, कति कुरा विस्मृतिमा जान्छन् तर कति कुरा कहिल्यै बिर्सिन्नन् । बा–आमाको स्नेहपूर्ण सान्निध्यमा देखेको उसको यस सपनामा आज सयौँ बिरामी आउँछन्, जान्छन् । स्वस्थ्यलाभको कामनाले हरेक दिन प्रार्थनामय बन्दछ अस्पताल । मनमनै सोच्ने गर्छ, कति अधुरै रहेका होलान् यात्राहरू । किशोरमनको कलिलो जमिनमा उम्रिएको उसको सपनासँग विगतका तीता–मीठा स्मृतिहरू गाँसिएका छन्, प्रेम र प्रोत्साहन गाँसिएका छन् । अस्पतालसँगै गाँसिएर आएको समाजसेवा पनि ऊसँगै हिँडिरहेछ, चाहे साहित्य, सङ्गीत या कला बनेर होस् । आज ऊ आफ्नो सपना र यथार्थसँग असाध्यै सन्तुष्ट छ । स्मृतिका तीता–मीठा क्षण, प्रियजन, दुःखसुख, सङ्घर्ष, धैर्य र मेहनतले पूरा गरेको किशोर मनको सपना साह्रै प्रिय लाग्छ, सुन्दर लाग्छ उसलाई । त्यसैले ऊ बारम्बार हेरिरहन्छ नजिकबाट । दृष्टि नथाकुञ्जेल हेर्छ, उसको किशोर मनको सपना– यो विशाल अस्पताललाई ।