बीपीले यसरी बनाए सगरमाथालाई नेपालको - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

बीपीले यसरी बनाए सगरमाथालाई नेपालको

होराप्रसाद जोशी

होराप्रसाद जोशी

अखबारमा सगरमाथा आरोहणको समाचार  बीपी याने श्री विश्वेश्वरप्रसाद कोइरालालाई झलझली सम्झन्छु । अनि मनमनै भन्छु बीपी पनि नेपाली नै थिए । कुरा धेरैअघिको होइन सिर्फ तीन दशक चानचुनअघिको हो । २०१५ सालको फाल्गुण महिनामा भएको सर्वप्रथम आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाई बहुमत प्राप्त गरी विजयी भएपछि श्री विश्वेश्वरप्रसाद कोइराला नेता चुनिनु भयो र उहाँको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । नेपालको इतिहासमा जनताद्वारा निर्वाचित पहिलो प्रधानमन्त्री हुने गौरव प्राप्त गर्नुभयो बीपीले ।

प्रधानमन्त्री हुनुभएको केही महिनापछी जनतान्त्रिक चीनका प्रधानमन्त्रीको आमन्त्रणमा आफ्ना सहयोगी श्री सूर्यप्रसाद उपाध्याय तथा श्री गणेशमान सिंहका साथ प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा जानुभयो । चीनको प्रवासमा हुनुहुँदा नै उहाँको आदेश आयो अनि काठमाडौँमा भव्य जुुलुसको आयोजना भयो र ‘सगरमाथा हाम्रो हो’, को नारा लगाउँदै भव्य जुलुसले सहरको सेरोफेरो घुम्यो । चीनबाट फर्कनुहुँदा पनि ‘सगरमाथा हाम्रो हो’ भन्ने नारा लगाउँदै विशाल जनसमूहले प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको स्वागत ग¥यो । जनतन्त्र चीनका महान् नेता माउत्से तुङको सगरमाथा साझा बनाउने प्रयासको विरोध गरेर श्री विश्वेश्वरप्रसाद कोइरालाले आफूलाई सच्चा स्वाभिमानी नेपाली प्रमाणित गर्नुभएकोमा हामी सबै गौरवान्वित भयौँ ।

२०१७ सालको वैशाखमा प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको आमन्त्रणमा जनतन्त्र चीनका प्रधानमन्त्री श्री चाउ एनलाई आफ्ना सहयोगी मार्सल श्री चेनीका साथ नेपाल भ्रमणमा आउनुहुने तिथि निश्चित भएपछि स्वागत समिति गठन भयो र सो स्वागत समितिको अध्यक्ष यस लेखकलाई बनाइएको थियो । निश्चित तिथि र समयमा आफ्ना दलबलसहित महान् चीनका प्रधानमन्त्री श्री चाउ एनलाई आउनुभयो । अतिथिको स्वागतमा कुनै प्रकारको कमी नहोस् भन्ने विश्वेश्वरप्रसाद कोइरालाको हार्दिक अभिलाषा थियो । स्वागतमा कुनै त्रुटि हुन दिएनौँ पनि ।

पाँच दिनको प्रवासकालको चार दिन हाँसीखुसीसाथ बिते । पाँचौं दिन बिहानै सबेरै शीतलनिवास पुगी सवारी चलाउने तरखरमा लागेकै बखत प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला आइपुग्नु भयो । अतिथि प्रधानमन्त्री श्री चाउ एनलाई तथा मार्सल श्री चेनी र चीनी दोभाषेका साथ प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला र यो लेखक मात्र थियौँ । चीनका प्रधानमन्त्री श्री चाउ एनलाईले भन्नुभयो– अब दूतावास खोल्ने भएपछि वायरलेस सेटबारे पनि तय हुनुप¥यो । हाम्रा लागि एउटै सेट भए पनि पुग्छ तर तपार्इंका लागि ल्हासा र पेकिङ दुवै ठाउँका लागि चाहिएकाले समानताको आधारमा दुई सेट राख्ने तय गरौँ ।

श्री विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो– ठीक छ ।

चीनका प्रधानमन्त्री श्री चाउ एनलाईले फेरि कुरा सुरु गर्दै प्रस्ताव गर्नुभयो– अब एभरेस्टबारे पनि वाटर सेड प्रिन्सिपलमा तय गरौँ ।

प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो– सगरमाथा नेपालको हो र सगरमाथाप्रति नेपाली जनताको भावना गाँसिएकोले पानीढलुवा सिद्घान्तका आधारमा तय गर्न सकिने अवस्था छैन ।

श्री चाउ एनलाईले भन्नुभयो– एभरेस्टसँग चीन जनताको सेन्टीमेन्ट पनि छ ।

श्री विश्वेश्वरप्रसादले भन्नुभयो– एभरेस्टको चीन भाषामा नाम नै नभएकोले चीन जनताको भावना याने सेन्टीमेन्टको प्रश्न नै आउँदैन ।

श्री चाउ एनलाईले भन्नुभयो– छ, एभरेस्टलाई चोमोलुङ्मा भन्छौँ ।

श्री विश्वेश्वरप्रसादले भन्नुभयो– त्यो त तिब्बती नाम हो ।

यस लेखकलाई पनि के भो के प्वाक्क बोलिहालेँ– एभरेस्ट याने सगरमाथाको उत्तरीभन्दा पनि तलको रोम्बुक मोनास्ट्रीले नेपाललाई तिरो बुझाई आएकोबाट पनि सगरमाथा नेपालको हो भन्ने देखाएको छ ।
चीनका प्रधानमन्त्रीले उसो भए दुवै देशका जनताको भावनात्मक विषय भएकोले यथावत् नै राखौँ भनी कुरा टुंग्याउनु भयो । अनि विमानस्थलतिर लाग्ने तरखरमा लाग्यौँ ।

विशवमा महान् कूटनीतिज्ञ कहलिएका जनतन्त्र चीनका प्रधानमन्त्री श्री चाउ एनलाईसँग दृढताका साथ सगरमाथालाई लिएर कुरा गर्नुभएको देखेपछि श्री विश्वेश्वरप्रसाद कोइराला मातृभूमिप्रति प्रतिबद्घ सच्चा नेपाली हुनुहुँदो रहेछ भन्ने राम्ररी जानकारी भयो ।

श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट २०१७ साल पौष १ गते विशेष ऐतिहासिक कदम उठाइबक्स्यो । श्री विश्वेश्वरप्रसाद कोइराला तथा उहाँका सहयोगी सबै गिरफ्तार भए । प्रजातन्त्रको अन्त्य भयो । प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला तथा उहाँका सहयोगीउपर विभिन्न लाञ्छना लगाइयो र जोडतोडका साथ प्रचार–प्रसार गराइयो । ती विभिन्न लाञ्छनाहरुमध्ये एउटा लाञ्छना थियो– देश बेच्न लागेको पनि ।

श्री ५ महाराजाधिराज सरकारले प्रत्यक्ष शासन प्रारम्भ भएपछि चीन सरकारको निमन्त्रणामा श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट चीनको भ्रमण गरिबक्स्यो । मौसूफ सरकारको आप्रवासमा चीन सरकार तथा श्री ५ को सरकारका बीच वाटर सेड याने पानीढलुवा सिद्घान्तका आधारमा सीमासन्धि भयो । सो सन्धिअनुसार दक्षिणतर्फबाट सगरमाथा आरोहण गर्नेले श्री ५ को सरकारको र उत्तरतर्फबाट आरोहण गर्नेले चीन सरकारको स्वीकृति लिनुपर्ने भयो । एभरेस्ट अब नेपालीको सगरमाथा र चीनको चोमोलुङ्मा हुनेभयो ।

श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव चीन भ्रमणबाट फिर्ता सवारी होइबक्सँदा टुँडिखेलमा बृहत् सभाको आयोजना भएको थियो । मौसूफ सरकारबाट सो बृहत् सभालाई बक्सेको सम्बोधनमा– सगरमाथा जहाँ थियो त्यहीँ नै छ र त्यहीँ नै रहने छ हुकुम भयो । मौसुफ सरकारको भाषण सुन्दै थिएँ, मेरो आँखाअगाडि श्री विश्वेश्वरप्रसाद कोइराला थिए । नजिकै आएर कसैले करायो ‘सगरमाथा हाम्रै हो’ । म झसँग भएँ । घण्टाघरनिरको नेसनल टोबाको कम्पनीले सगरमाथा चुचुरो त्यसै दिन निकालेको रहेछ ।

(पूर्व मन्त्री जोशीको ‘नबिर्सने ती दिनहरू’ पुस्तकबाट साभार)