प्रकाशकीय - Aksharang
  • २०७७ असार २४ बुधबार

प्रकाशकीय

बसन्त चौधरी

सिर्जना हाम्रो कर्म पनि हो र धर्म पनि । कर्म यस अर्थमा कि श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र यसमा आवद्ध सबै व्यक्तित्वहरू साहित्य र कलाको कुनै न कुनै रचनात्मक क्षेत्र र विधामा संलग्न हुनुहुन्छ । त्यसैले सिर्जनाका लागि केही गर्नु स्वतः हाम्रो कर्म हो । धर्म, हाम्रो कर्मसँगसँगै यी क्षेत्रहरूको समृद्धि र विस्तारमा हामी आस्थापूर्वक विगत २६ वर्षदेखि समर्पित भावले लागिरहेका छौँ ।

हाम्रो उद्देश्य र लक्ष्य भनेको यी समग्र विधाहरूको सामूहिक प्रस्तुति नै हो । साहित्य, कला र संस्कृतिलाई एउटै माध्यममार्फत जनजनमा पु¥याउन विगतमा पनि हामीले केही प्रयत्नहरू गरेका थियौँ । र, अझ यस प्रयत्नलाई मूर्तरूप दिन एउटा पत्रिकाको परिकल्पना गरेका थियौँ । तर प्रविधिको तीव्र विकास र विस्तारले गर्दा आज यसको स्वरूप पूरै रूपान्तरित हुन पुगेको छ । प्रविधि, काजगका पृष्ठहरूबाट फड्को मारेर ग्याजेटको युगमा पाइला राख्न पुगेको छ ।

समय र परिस्थितिअनुकूल यसका संवाहकहरूको माध्यम पनि रूपान्तरित हुँदैआइरहेको छ । यो संवाहक माध्यम अब कागजमा टङ्कन हुने अक्षर, तस्बिर र कलासँगसँगै श्रव्य र दृश्यलाई समेत समेटेर अनलाइन माध्यममा प्रस्तुत हुन थालेको छ । यो ‘अक्षरङ्ग’ यसैको द्योतक हो ।

‘अक्षरङ्ग’ मूलतः सिर्जनाका सबै विधाहरूलाई समाहित गर्दै भाषा र भूगोलका सीमाहरूलाई नाघेर पठनीय सागम्रीहरू पाठकहरूसमक्ष पु¥याउने अनलाइन पत्रिका हो । यसमा नेपालीलगायत देशभित्र बोलिने विभिन्न भाषा र अन्तर्राष्ट्रिय भाषामा लेखिएका सामग्रीहरू पनि प्रकाशित हुनेछन् । यस अर्थमा यसलाई अन्तर्राष्ट्रिय म्यागेजिनको स्वरूपमा ढाल्ने हाम्रो ध्येय हो ।

यी विविध उद्देश्य बोकेर ‘अक्षरङ्ग’ को पहिलो अङ्क तपाईंहरू सामु प्रस्तुत गर्ने जमर्को गरेका छौँ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशन गरे पनि यो तपाईंको आफ्नै रुचिको पत्रिका हो । यस अर्थमा तपाईंले बुझिदिनुभयो भने र यसमा परिवर्तन गर्नुपर्ने या केही प्रसङ्गहरू थप्नुपर्ने आवश्कता बोध भयो भने आफूलाई लागेको सुझाव र सल्लाह हामीलाई सम्प्रेषण गरिदिनुभयो भने हाम्रा लागि यो अमूल्य मार्गनिर्देश हुनेछ र यसका लागि हामी तपाईंप्रति सदैव आभारी रहने छौँ ।