सञ्चार–प्रविधिको फड्को - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

सञ्चार–प्रविधिको फड्को

विष्णुविभु घिमिरे

नेपाली साहित्य, संस्कृति र कलाको उत्थान र विकासको दृढ अठोटसाथ स्थापना भएको श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विगततिर फर्केर हेर्दा, जुन उद्देश्यले यस संस्थाको स्थापना भएको थियो– त्यसमा निरन्तर सक्रिय रही आफ्नो यात्रा अगाडि बढाइरहेको छ । संस्थाको रजत महोत्सवको कार्यक्रममा पनि संस्थाले गरेका विगत २५ वर्षका उपलब्धिलाई उजागर गरेको थियो । साहित्यकला मन्दिरले नेपाली वाङ्मयका खास गरी साहित्य, संस्कृति र कलाको विधामा समयसमयमा गरेका आफ्ना कार्यक्रम र गतिविधिहरूबाट यस क्षेत्रमा के, कस्ता उपलब्धि र योगदान दिन सक्यो यो जग जाहिरै छ । यसमा हामीले थप भनिरहनुपर्ने कुरा त्यस्तो केही होला जस्तो लाग्दैन । विगतका आफ्ना अनुभव र इतिहासलाई सोचमा राख्दै समयअनुसार आगतका लागि योजना बनाउनु समयोचित कर्म हो ।

मानिसलाई मानिस बनाई राख्ने प्रमुख कुरा उसको चेतना नै हो । चेतनाको मुख्य माध्यम सञ्चार हो । विज्ञानको ठूलो उपलब्धिका रूपमा सञ्चार–प्रविधिले अहिले फड्को हालेको छ । विद्युतीय माध्यमद्वारा सबै कुरा अहिले सजिलैसँग सञ्चार हुन थालेपछि सूचनाले पनि क्षणभरमा विश्वभर आफ्नो पहुँच बनाइसकेको छ । यो आधुनिक सञ्चार–प्रविधिको विकाससँगसँगै अघि बढ्नुपर्छ भन्ने सोच अनुसार नै साहित्य, संस्कृति र कलाको उत्थानमा जुटेको बहुपरिचित संस्था श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पनि ‘इ’ पत्रिका ‘अक्षरङ्ग’ प्रकाशन गर्ने निर्णयअनुसार यो पहिलो अङक प्रकाशनमा आएको छ । हामी मासिकरूपमा प्रकाशन हुने यस पत्रिकामा सबै प्रवुद्घ लेखक र पाठकहरूको सुझाव, सल्लाहको अपेक्षा गर्दछौँ ।

अक्षर नै चेतनाको आदिस्रोत हो । यस पत्रिकाका माध्यमद्वारा अक्षरसँग जोडिएर आउने विभिन्न चेतनाका रङ्गहरूको इन्द्रेणी बनाउने हाम्रो सोच हो । धेरैभन्दा धेरै पाठकहरूलाई समेटेर अघि बढ्ने हाम्रो लक्ष्य हो । पत्रिकाको निरन्तर यात्राका निम्ति यथासक्य सबैसँग सहयोगको अपेक्षा अनुरोध गर्दछौँ ।