गायक हुन चाहन्थेँ, आख्यानकार हुन पुगेँ - Aksharang
  • २०७७ मंसिर १८ बिहीबार

गायक हुन चाहन्थेँ, आख्यानकार हुन पुगेँ

डा. ध्रुवचन्द्र गौतम

डा. ध्रुवचन्द गौतमको सुरुमा गायनप्रति गहिरो रुचि जागेको थियो । उनी राम्रो गाउँथे र एउटा सफल गायक हुन चाहन्थे । तर कालान्तरमा गायनबाट कविता र कथा हुँदै उनको परिचय एक प्रसिद्ध आख्यानकारका रूपमा स्थापित हुनुपुग्यो यसरी…

सामान्यतया हरेक बालबालिकालाई श्रीपञ्चमी अर्थात् सरस्वतीपूजाका दिन अक्षराम्भ गर्ने परम्परा छ । त्यो अवसर मैले पाइनँ । भनौँ मलाई यस्तो विधिविधानपूर्वक अक्षराम्भ गरेको मलाई सम्झना छैन । मलाई मैले कहिलेदेखि लेख्न या पढ्न सुरु गरेँ त्यो पनि थाहा छैन । भएको भए सम्झना हुनुपर्ने हो । अर्थात् नपढ्ने या नलेख्ने बेलाको सम्झना मलाई छैन । मलाई जबदेखि चेतना भयो म पढिरहेकै थिएँ, लेखिरहेकै थिएँ । मलाई राम्ररी पढ्न जान्ने भएर ठूलो वर्णमालाको सरस्वती स्तोत्र कण्ठ गरेको सम्भना छ । हाम्रो समयमा ठूलो वर्णमालाबाहेक अर्को हिन्दीको पुस्तक पनि पढ्नुपथ्र्यो– ‘मनोहर पोथी’ । त्यो पढेको पनि याद छ । तर मलाई समारोहबीच कखरा चिनेको थाहै छैन । त्यसैले मलाई आभास हुन्छ– सायद म अनन्तकालदेखि नै लेखिरहेको र पढिरहेको थिएँ ।

एकदमै सानो बेलामा रामायण, महाभारतका पौराणिक कथाहरू भएको ‘कल्याण’ पत्रिका पढेँ । यसमा विभिन्न तीथस्थलका महात्म्यहरू हुन्थे । विशेषाङ्कहरू पनि आउँथे, ती विशेषाङ्कहरूमा म अत्यन्त रमाउँथेँ । सुरुवाती मेरा पढनपाठन यिनै हुन् । अनि मलाई स्वस्थानी व्रतकथा पढेका याद छ । हाम्रो घरमा स्वस्थानी भन्ने चलन थियो । वरपरका घरहरूमा पनि यो चलन थियो । हामीकहाँ दिनमा एउटा खण्ड पाठ हुन्थ्यो तर कसैकसैका घरमा एक, तीन, पाँच गरेर बिजोर खण्ड पाठ गर्ने पनि चलन थियो । कसैकसैले त एक महिनामा तीनचोटिसम्म स्वस्थानीको कथा छिचोलेका पनि थाहा छ । सानै धए पनि म घरमा स्वस्थानी भन्थेँ ।

अहिले हिसाब गर्दा म चार वर्षको उमेरमा कक्षा एकमा भर्ना भएँजस्तो लाग्छ । त्यस बेला अङ्ग्रेजी एक कक्षादेखि नै पढ्नुपथ्र्यो– ‘फस्र्ट बुक’ । यो पुस्तकका बारे गणेणमान सिंहले पनि उल्लेख गर्नुभएको छ । पढ्न कठिन थियो । एउटै गुरुले सबै विषयहरू पढाउने चलन थियो । तिनताका आजजस्तो ठूलठूला विद्यालयहरू थिएनन् र सबै विषय एउटै शिक्षकले पढाउँथे । छ वर्षको उमेरमा म कक्षा तीनमा पढ्न थालिसकेको थिएँ । र, त्यही त्रिजुद्ध हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेँ ।

तीन कक्षामा हुँदा नै मैले नेपाली र हिन्दी कविता पढेको हुँ । दार्जीलिङबाट प्रकाशित हुने कुनै पुस्तकमा मैले नेपाली र तुलसीकृति रामायणको हिन्दी कविता सर्वप्रथम पढेको हुँ ।

भनिसकेँ म पढ्न, लेख्न जान्ने भएरै विद्यालयमा भर्ना भएँ । बीचमा अर्को एउटा कुरा पनि भनिहालूँ– यति हुँदाहुँदै पनि म राम्रो विद्यार्थीचाहिँ हुन सकिनँ । सुरुमा राम्रो विद्यार्थी थिएँ तर हाइस्कुल गएपछि खेलकुद र बाहिरी किताबमा बढी रुचि भएकाले म कमजोर विद्यार्थीजस्तो हुनपुगेँ । विद्यालयमा पुस्तकालय थियो, त्यहाँबाट पाठ्यक्रमबाहिर किताबहरू ल्याएर पढ्थेँ ।

यसरी मेरो अक्षरसँगको सम्पर्क बढ्यो । तर सुरुमा लेखक–कवि बन्ने सपना थिएन । म आठ वर्षको उमेरदेखि नै गीत गाउँथेँ र गायक बन्ने सपना थियो । घरमा माग्ने भिक्षुहरू आउँथे, एकतारे बजाउँदै गीत गाउँथे । कुनैकुनैले त एकदमै राम्रो गाउँथे । हाम्रो घरमा आउँदा मात्र होइन, तिनीहरू अरूको घरमा जाँदा पनि म तिनलाई पछ्याउँथेँ । ढिलो भिक्षा दिऊन् र तिनीहरू गाइरहून् भन्ने लाग्थ्यो । गायनसँग मेरो यति धेरै अनुराग थियो । पछिपछि त म विद्यालयमा गाउनै थालेँ । त्यस बेला सरस्वतीपूजामा त्रिजुद्धमा नाटक हुन्थ्यो । पहिलोपटक सार्वजनिकरूपमा मैले त्यहीँ गाएको हो । त्यो गीत थियो– तलद महम्मुद र लता मङ्गेशकरले गाएको ‘आजाद’ भन्ने हिन्दी फिल्मको ‘कितना हंसी है मौसम, कितना हंसी सफर है’ । म करिब १२ वर्षको थिएँ, त्यस बेला । यसरी हरेक वर्ष त्रिजुद्धको सरस्वतीपूजामा गाइरहेँ । अलिक ठूलो भएपछि १६ वर्षको उमेरमा मैले आफैँले लेखेर, आफैँ सङ्गीत भरेको गीत गाएँ । नेपाली गीत कमै चल्थे र सायद मेरो स्वर पनि सुरिलो भएकाले होला, मैले खुब प्रशंसा पाएँ । यसरी गायनतिर लागेँ ।

हुन त मैले १० वर्षको हुँदै कविता लेखको थिएँ, सात कक्षामा पढ्थेँ । तर अङ्ग्रेजीमा ‘ह्वाट इज योर एम इन लाइभ’ भन्ने शीर्षकमा एस्से लेख्दा ‘माई एम इन लाइफ इज टु बि म्युजिसियन’ भनेर लेख्थेँ । भन्न खोजेका सिङ्गर हो, नआएर म्युजिसियन लेखेको हुँ । जे होस् म गायक बन्न चाहन्थेँ । एसएलसीसम्म मेरो लक्ष्य गायक बन्नु नै थियो । यद्यपि सँगसँगै कविता लेख्न पनि थालेँ । नेपालीसँगसँगै हिन्दी कविताहरू पनि लेखेँ । बाहिरतिर सुनाउन पनि थालेँ । साथीभाइले रुचाउन थाले । यति हुँदाहुँदै पनि उनीहरू मलाई गीत गाउन नै बढी लगाउँथे– रफी, मुकेशका गीतहरू ।

कलेज गएपछि अर्कै खालको सङ्गत हुनथाल्यो । म पढ्न थालेँ । विश्वसाहित्यसँग परिचय हुँदैगयो । यद्यपि नौ कक्षामै पाठ्यक्रममा भएकाले टल्सटोय पडिसकेको थिएँ । हाम्रो विद्यालय र टोलमा पुस्तकालयहरू थिए, त्यहाँका हिन्दीमा अनूदित विदेशी साहित्यहरू पढ्थेँ । आईएमा त विश्वसाहित्य पाठ्यक्रममै थियो । यसरी म विश्वसाहित्यसँग परिचित हुँदैगएँ । त्यसपछि मैले विश्वसाहित्य धित मर्ने गरी पढेको काठमाडौँमा बीए पढ्न आएपछि– त्रिचन्द्रमा ।

बीए पढ्न थालेपछि अर्को घटना भयो । त्यो के भने त्यस बेलाको प्रसिद्ध पत्रिका ‘रूपरेखा’ मा पहिलोपटक मेरो कविता छापियो, २०२० साल वैशाख १ गतेको अङ्कमा । त्यसै वर्ष त्यही पत्रिकामा मेरो कथा पनि छापियो । पछि त म ‘रुपरेखा’ को नियमित लेखक नै भएँ, त्यो पत्रिका बन्द नहुञ्जेलसम्म लेखिरहेँ ।

यसरी थाहै नपाई बिस्तारै मेरो रुचि गायनबाट लेखनमा स¥यो । तर कविको रूपमा । त्यसपछि म कवि हुन चाहन्थेँ । यो मेरो दोस्रो रुचि थियो । अनि कथा छापिए, म अलग धारका कथा लेख्थेँ । मेरो कथाको प्रशंसा हुन थाल्यो । त्यसछि कविता र कथा समानान्तर जान थालें । तर पछि के–के भयो कविता कम हुँदैगयो, कथामा बढी कलम चल्न थाल्यो । मलाई बढी त कथामै अभ्यास बस्न थाल्यो । सम्पादकहरू पनि कविताभन्दा कथा नै छाप्न रुचाउने । त्यसपछि कथालेखन तीव्र गतिमा अघि बढ्न थाल्यो । सारांशमा अहिले स्थितिको कुरा गर्ने हो भने कथालेखन पनि छुट्दै गइरहेछ । र म यति बेला आख्यानमा छु ।

यसरी गायक, कवि, कथाकारको ‘एम’ परिर्वतन हुँदै मेरो रुचि उपन्यासकारको हुनपुगेको छ । क्रिइटिभ राइटिङ् मैले मनैदेखि नआई कहिल्यै लेखिनँ । कथा–कविता त म अहिले पनि लेख्न सक्छु तर मनैबाट आउँदैन । म कनिकुथी लेख्न चाहन्नँ । अखबारी लेखन अर्कै कुरा हो, यदाकदा लेखिरहेको पनि छु । किनभने अखबारी लेखनमा आफ्नो ज्ञानलाई पनि प्रयोग गर्न सकिन्छ । तर क्रिएटिभ राइटिङ्मा ज्ञानले मात्र काम चल्दैन, यो त अनुभूतिले हुने कुरा हो । अनुभूतिले नै गर्दा हो अहिले कथा कम भए । कुनै बेला नाटक पनि लेखेँ । नाटकलेखन त पूरै हरायो, तैपनि आधा दर्जन त लेखेँ । नलेखको चाहिँ मञ्चनको अप्ठ्यारोले गर्दा पनि हो नाटक । यसमा समूह चाहियो, आफ्नै मानिस र समूह हुनुपर्छ नाटक मञ्चन गर्न । मसँग यी कुरा थिएनन् । म अहिले आख्यानमा टिकेको छु । यो चलुञ्जेल चलिरहन्छ ।

अक्षर अब मेरो जीवनको अभिन्न बस्तु हुनपुगेको छ । मेरो प्राप्ति पनि यही हो र मैले छोडेर जाँदा पनि रहने कुरा यही हो । म गन्दै थिएँ । मैले अक्षरसँग खेल्न थालेको पनि सातौँ दशक भइसकेछ । मैले लेखेका समग्र कृतिहरू ५० वटा पुगिसके, यीमध्ये २५ वटा त उपन्यास नै प्रकाशित छन् । आधा उपन्यासले ढाकेको छ र आधा कविता, कथा, नाटक आदि विधाका कृतिहरूले । मेरो यो सात दशकको समय यसरी बित्दैछ । बाँकी जीवन पनि आफूसँग भएका विषयवस्तुलाई उपन्यासमै उनेर बिताउने छु । मैले विभिन्न पदहरू पनि पाएँ तर मेरो लागि यही ठीक छ र पेसामा मैले २८–३० वर्ष गरेको प्राध्यापन नै उपयुक्त थियो भन्ने निष्कर्षमा पुगेका छु । तर यी दुवै कुरामा आर्थिक उपार्जनचाहिँ छैन । जति दशक लेखेँ भने पनि अझै प्रकाशक पाउन गाह्रो छ, अझै प्रकाशकबाट लेखकस्व पाउन कठिन छ । धेरै सुनिन्छ– पाठकहरू बढे, फलानो लेखकले यति रकम थापे भन्ने । तर मेरो पक्षमा, पाठककै भएनन् कि ! यति धेरै कृतिहरू लेखेर पनि मैले लेखनबाटै जीविका चलाउने मौका चाहिँ पाउन सकेको छैन । यदि लेखनबाटै जीविका चल्न सकेको भए मेरा लागि यो एउटा सुखद् पक्ष हुने थियो । तर सुरुदेखि आजसम्म कति साथी भए, कति छुटे पनि, नयाँ साथी पनि भए तर यो एउटा चीज चाहिँ छुटेन– त्यो आख्यान ।