हरिहर शर्मा - Aksharang
  • २०७७ असार २४ बुधबार

हरिहर शर्मा

खै एघार वर्षको थिए हुँला
आफू जन्मेको चौरपानी छोडेर
परदेश हिँडेको
हो ! त्यही बेला हो मैले
मोटर गाडी र रेलगाडी देखेको
आमा छोडेर बुवाकहाँ पुगेँ
कक्षा छमा पढ्थेँ– आसाममा
त्यहीँ पहिलोपटक नाटकमा अभिनय गरेँ
‘आमाको पुकार’
त्यसपछि पनि धेरै नाटकहरुमा खेलेँ
पढाइमा पनि अब्बल थिएँ
तर किन–किन आमाको पुकारले
फेरि आमाको माइतमै बोलायो
र म काठमाण्डौँ आइपुगेँ ।

०००
डाक्टर बन्न भन्थे सबैले
साइन्स पढ्न थालेँ
तर मनभित्र त नाटक नै थियो
जीएएको एकाङ्की हुँदै
प्रज्ञाप्रतिष्ठानको जागिरे भएँ
डाक्टरीको योजना
कलाकारमा रुपान्तरित भए ।
आसामका गुरुबाबाहेक
जीतेन्द्र महत, मदनदास
प्रचण्ड मल्ल सबैलाई साधुवाद !
म जे चाहन्थेँ त्यही बनेँ
र जसलाई चाहन्थेँ
उनैलाई जीवनसङ्गिनी बनाएँ

०००
खै अभिनय र निर्देशनको
के कुरा गर्नु र !
अचेल त रङ्गकर्मको वास्तविक
बाटो खन्नमा तल्लीन छु
नीति–निर्माण र अनुसन्धानमा छु
छत्तीस बर्षे जागिरे जीवनदेखि
अहिले प्राज्ञ हुञ्जेलसम्म
फुर्सद कहिल्यै भएन
तर गर्न चाहेको काम गर्ने समय भने
सधैंँ नै मिलिरह्यो ।

०००
कहिलेकाहीँ अचेल घोत्लिन्छु –
‘जीवन वीमा’ देखि ‘समाजको नाइके’ सम्म
वा ‘वासुदेव’ देखि ‘म यस्तो गीत गाउँछु’ सम्म
विभिन्न चरित्र बाँचेका हरिहरमध्ये
म कुनचाहिँ हरिहर हुँ ?
रङ्गमञ्चमा अभिनय सिकाउने
वा चलचित्र–पाठशालाको
विभागीय प्रमुख अथवा
नाचघरको महाप्रबन्धक
वा साहित्यकला मन्दिरको उपाध्यक्ष
या फेरि प्रज्ञाप्रतिष्ठानको उपकुलपति ?
पिता, पति वा हजुरबा ?
कुनै दलमा नलागेर मैले
जीवनभर रङ्गकर्मको राजनीति गरिरहेँ ।
जे गरे पनि
जे भए पनि
मन त अभिनय मै रमाउँछ ।