याद - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

याद

ईश्वरी कार्की वर्षा

अक्षरहरु लेखिन्छन मेटिन्छन्
पेनले लेखेका अक्षर पसिनाले मेट्छ
पानीले मेट्छ
शिलालेखका अक्षर
सायद यूगले मेट्छ

आमाले पठाएको चिठी
अरवी पसिनाले मेट्छ
शहर राखी
बोडिङ्ग पढाउदै गरेको
छोराले लेखेको चिठी
बिना इरेजर आसुले मेट्छ
श्रीमतीले पठाएको चिठी
हातको डामले मेट्छ
हिड्दै गरेको पद्चाप
समयले मेट्छ

तर
किन कहिले मेटिएनन्
दु:खका फेरिस्ताहरु ?
मेटिन सकेनन् कहिले
भोकका सिमारेखाहरु ?

कोही त बताई देउ कि
प्रियजनको याद ठूलो हुन्छ कि
पेटको भोक ठूलो ।