पाँच नम्बर ग्रेस दिएर शताब्दी–पुरुष बनाए - Aksharang
  • २०७७ असार २४ बुधबार

पाँच नम्बर ग्रेस दिएर शताब्दी–पुरुष बनाए

सत्यमोहन जोशी

वाङ्मय शताब्दी–पुरुष सत्यमोहन जोशी तीनपटक मदन पुरस्कार पाउने एक मात्र सर्जक हुन् । संस्कृति, रङ्गमञ्च र कवितामा समेत कलम चलाइसकेका उनी आज जीवनको सयौँ वर्षमा टेकिसक्दा पनि त्यत्रिकै सक्रिय दिनचर्यामा बाचिरहेका छन् । । जोशीको जीवनका उकाली–ओराली र सांस्कृतिक योगदानका बारेमा उनीसँग ‘अक्षरङ्ग’ ले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, त्यसै कुराकानीको सम्पादित अंश:

अचेल क गर्दै हुनहुन्छ ?

खे के गर्दै भनूँ ? केही दिनदेखि रुँघाले ग्रस्त पारेको छ । तिहारको खानपिनमा केही गडबडी भएर हो कि !

यतिखेर पो रुँघा लाग्यो त । हिजोआजचाहिँ केमा व्यस्त हुनुहुन्छ त ?

अब यो उमेरमा खै केमा व्यस्त हुनु ? पहिलाजस्तो काम गर्न सकिँदैन । आँखा पनि कमजोर हुँदै गए । स्मृतिशक्ति पनि कम हुँदै जाँदैछ । यसअघि जे जति गरेँ, त्यति नै हो ।

कार्यक्रमहरूतिर बोलाउँछन् नि ?

हो, अलि महत्वपूर्ण समारोह छ भने त्यसमा गएर दुईचार शब्द बोल्छु । किताबका भूमिकाहरू लेखाउन आउँछन्, जानेको दुईचार शब्द लेखिदिन्छु । यसबाहेक खासै ठोस भूमिका छैन ।

एकपटक कार्तिकनाचको पनि कुरा गर्नुहुन्थ्यो नि, त्यो के हुँदैछ ?

कार्तिकनाच चलिराखेकै छ ।

यो त हरेक वर्ष हुने हो नि ?

हो, हरेक वर्ष कार्तिक महिनामा हुन्छ । यो अरू बेला हुँदैन ।

यसको संस्कृतिबारे केही लेख्नुभएको छैन ?

अब केही लेखौँ भन्ने लागेको छ, अलिअलि सामग्रीहरू पनि छन् । तर यो पनि अधकल्चो भइरहेको छ, अघि बढेको छैन ।

किन अघि बढेन त ?

विभिन्न काम लिएर मानिसहरू आइरहन्छन् । वातावरण मिलेको छैन । त्यसैले केही हुन सकिरहेको छैन ।

सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानसँग पनि यसबारेमा कुरा चल्दैथ्यो होइन र ?

त्यहाँबाट केही दिनअघि मलाई बोलाएका थिए । कुरा चलेको पनि हो तर खै यसलाई संरक्षण गर्ने काम हुन सकिरहेकै छैन । यसअघिका उपकुलपति शम्भुजित बास्कोटाले पनि छायाँङ्कन गरेर लगे तर त्यसमाथि अरू काम भएको छैन ।

यसको महत्व के हो ?

वियोगान्त नाटकमा इसापूर्व एरिस्टोटल, प्लेटो, सेक्रोटिसको जमानादेखि ग्रीसको नाट्यशालामा नचाइने एम्टी थिएटर (खुला मञ्चमा गरिने) को परम्परा थियो । यस्ता विश्वप्रसिद्ध नाटककारहरूले गर्दैआएको त्यो वियोगान्त नाटकमा विश्वप्रसिद्ध मानिन्थ्यो । कालान्तरमा आज आएर यसको नामसम्म सुनिँदैन । एम्टी थिएटरको परम्परा नै समाप्त भयो ।

अनि कात्तिकनाच यहाँ कसरी सान्दर्भिक भयो त ?

कार्तिकनाच चार सय वर्षअघिको हो । यसमा मूर्त र अमूर्त संस्कृति छ । कृष्ण मन्दिर मूर्त हो भने कात्तिक नाच अमूर्तकला हो । यो वियोगान्त नाटकको जीवित उदाहरण हो । त्यसैले यसको संरक्षण हुनपर्छ भनिरहेछु म।राजा सिद्धिनरसिंह मल्ल यस नाचका प्रवर्तक हुन् । यसलाई हरिवंशले प्रस्तुत गराए । उनका पालामा यो एक हप्ता देखाइन्थोे । पछि उनका छोराहरूले १५ दिन देखाए । अनि उनका नातिहरूले बढाएर यसलाई एक महिना पु¥याए ।

ग्रीसको हरायो तर हाम्रो कार्तिकनाच त अझ पनि छ, यसको संरक्षण गर्नुपर्छ, होइन त ?

हो, ग्रीसमा इसापूर्वदेखि चलिआएको वियोगान्त नाटकको परम्परा हरायो तर हामीले संसारमा कहीँ नभएको यस नाटकको परम्परालाई अझसम्म संरक्षण गरेर राखिराखेका छौँ । मेरो आग्रह– यसलाई सबैले हेरिदिनुप-यो र यसलाई लिपिवद्ध या छायाङ्कन गरेर सम्बन्धित निकायले संरक्षण गरिदिनुप-यो भन्ने हो । र यो जिम्मेवारी सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले वहन गरिदिनुप-योे भन्ने मेरो आग्रह हो ।

अब अलि प्रसङ्ग बदलौँ ’ तपाईं शताब्दी पुरुष हुनुभयो, सरकारले पनि घोषणा ग¥यो । यो शताब्दी पुरुषको अर्थ के हो, सय वर्ष पुग्ने त अरू पनि छन् ?

त्रिमूर्ति निकेतनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईले मेरो जीवनी लेख्ने स्वीकृति दिए र उनले लेखे पनि । तर यसको शीर्षक नै ‘शताब्दी–पुरुष सत्यमोहन जोशी’ राखिएको रहेछ । मलाई शीर्षक अलि खट्क्यो र ‘शताब्दी पुरुष’ झिकिदिनूस् भनेँ । म भर्खर ९५ वर्षमा लाग्दै थिएँ । ‘शताब्दी पुग्न अझ पाँच वर्ष बाँकी छ, यसरी सय वर्ष नै नपुगी शताब्दी–पुरुष भन्दा त मलाई उचालेजस्तो हुन्छ, कतैबाट खसालेजस्तो पनि हुन्छ, विन्ती छ यसो नगरिदिनूस्’ भनेँ ।

तर पनि ‘शताब्दी–पुरुष’ नै लेखियो नि त !

पहिलापहिला विद्यार्थीहरूलाई उत्तीण गराउन ग्रेस दिएजस्तै उनले ‘त्यसो भए मैले तपाईंको आयुमा पाँच नम्बर ग्रेस दिएँ अब तपाई सय वर्ष पुग्नुभयो’ भने ।

तर शताब्दी पुग्ने त अरू पनि छन् नि ! राष्ट्रकवि माधव घिमिरे तपाईंभन्दा छ महिना जेठो, उहाँलाई भनिएन ?

हो, मभन्दा जेठो माधव घिमिरे हुनुहुन्थ्यो । तर उहाँलाई राष्टकविको उपाधि दिइएकाले मलाई ‘शताब्दी पुरुष’ भन्न खोजेका रहेछन् । यसको स्पष्टीकरण दिइन् त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाइंले । उनले मधुपर्कमा ‘सत्यमोहन जोशीको साहित्य, संस्कृति, कला, नाटकलगायत विभिन्न क्षेत्रमा योगदान भएकाले उहाँ शताब्दी मात्र होइन ‘वाङ्मय शताब्दी–पुरुष’ हुनुहुन्छ भनेर लेखिन् । अनि यही आधारमा ‘वाङ्मय शताब्दी–पुरुष’ को प्रस्ताव मन्त्रालयमा पेस गरियो र पास भयो ।

यसवापत भत्ता कति पाउनुहुन्छ ? राष्ट्रकविले त पाइरहनुभएको छ !

छैन । मैले मागेको पनि छैन, दिएको पनि छैन । राष्ट्रकविले पाउनुभयो भनेर मैले यसको पछि लागिनँ । खासमा म लोभीपापी हुन पनि चाहन्नँ ।

तपाईंको एउटा प्रसिद्ध दर्शन छ नि– ‘जुरेली दर्शन’ । यसैमाथि सांस्कृतिक संस्थानले पुस्तक पनि प्रकाशन ग-यो । यो दर्शन के हो ?

सत्यको खोजीमा जाँदा यस पद्धतिबाट जाने भन्ने स्वचिन्तन, सिद्धान्त त हुन्छ नि ! राम्रो काम गर्ने पद्धति निर्माणका लागेको यो मेरो एउटा दृष्टिकोण हो । २००१ सालमा दोस्रो विश्वयुद्ध चलिरहेका बखत म जागिरे भएँ । नेपालमा सर्वप्रथम वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेर आएका भीमबहादुर पाण्डेले नयाँ अड्डा खडा गरे– औद्योगिक व्यपाारिक समाचार सङ्ग्रह अड्डा । यसले देशको उन्नतिका लागि ठाउँठाउँमा पुगेर सामाजिक, भौगोलिक, कृषि आदि विषयमा अनुसन्धान गरी तथ्याङ्क सङ्कलन गर्ने भयो । र, यसको सुरुवात पश्चिम दुई नम्बर (गोर्खा) र तीन नम्बर (तनहूँ, जमजुङ र कास्की) बाट गरिने भयो । मेरो क्षेत्रचाहिँ तनहूँ र जमजुङ थियो । हामी पाँच जनाको टोली थियो । म काठमाडौँ उपत्यकाबाहिर नगएको मानिस । मलाई तलबाट काम गर्दै माथि जानु भनेका थिए । मैले तनहूँको कालीगण्डकीको तीरबाट काम सुरु गरेर माथिमाथि उक्लिँदै थिएँ मलाई औलोले समात्यो र मरणान्त पा¥यो । गाउँघरमा औषधी पनि पाइँदैनथ्यो । त्यो बेलाको दुःख वर्णन गरिसाध्य छैन ।

अनि जुरेली कहाँ, कसरी जोडियो ?

म भन्दैछु । साथीहरूले त्यहाँको काम सकेर माथि उक्लिहाल्नूस् भनेर खबर पठाए । म माथिमाथि उक्ँिलदै जाँदा हावापानीको प्रभावले औलो साम्य भयो । दिसापिसाब गर्न कुलो या जलाशयतिरका झाडीतिर जानुपथ्र्यो । त्यहाँ कुवामा पानी भर्ने महिलाहरू आउँथे । पानी भरिन समय लाग्थ्यो । पालैपालो आ–आफ्ना गाग्री नभरिउञ्जेल कुरेर बस्दा तिनीहरू गीत गाउँथे । जता पनि गीत गाइरहेका छन् । तिनीहरूका गीत कति सुन्ने, दिक्क लाग्यो । दाउरा, पातहरू पिठ्यूमा बोकेर आउनेहरूको शरीरबाट तरतरी पसिना चुहिरहेको हुन्थ्यो तर तिनीहरू पनि गीत नै गाइरहेका हुन्थे । देउराली गयो– गीतै गाइरहेका हुन्थे । चौतारी त जताजतै हुन्थे, त्यहाँ पनि भारी बिसाएर गीतै गाइरहेका हुन्थे । अनि एक दिन त सुनेँ–

के खायो रेलिमााई, के लायो होला
मेरो माया रेलिमाई वनको जुरेली चरीले

यसरी तुक्का जोडेर गाउँदै फनफनी नाचेको बेला मेरो मनमा एउटा दृश्य आयो । जुरेली त मेरै घरमा पनि आउँथ्यो । केटाकेटीमा जुरेली समाउने कोसिस पनि गरेको थिएँ । पुच्छरमुनि रातो रङ भएको जुरेली हेर्दा पनि ज्यादै सुन्दर । यसलाई भोलि के खाने, के लाउने भन्ने चिन्ता पनि छैन । आफ्नो जोडी लिएर उडिरहेको छ । एउटा हाँगाबाट भुर्र उडेर अर्को हाँगामा गइरहेको छ । जीवन त यो पो रहेछ, म भोलिको चिन्ता किन गरूँ ? मैले यो पाइनँ, त्यो पाइनँ भनेर चिन्ता किन गरूँ ? यसले त चिन्ता गर्दैन । भोलिको लागि भोलि नै हुन्छ, आज किन पीर गरूँ ? गीतमा यो जुरेली आएपछि मलाई छोयो– ‘सादा जीवन उच्च विचार’ । अनि म गीत टिप्न थालेँ । आजजस्तो डटपेन, पेन्सिल सुलभ थिएन । मैले बाँसको कलमले नेपाली कापजमा टिप्न थालेँ । आजभन्दा ७६ वर्षअघिको कुरा हो यो ।
विश्वयुद्धका लागि सैनिक खोज्न गोरखपुरबाट गल्लाहरू गाउँगाउँमा आउँथे । गुरुङ र मगर गाउँमा युवकहरू त स्वात्तै लिएर जान्थे । गाउँ पुरुषविहीन हुन्थे । त्यस गाउँका महिलाहरूलाई यसले त छोयो नि ! अनि गीत बनाए–

गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई

कसैको छोरो, कसैको भाइ–दाइ, कसैको मामा युद्धमा परेका होलान् । अनि फेरि महिलाहरू आफ्ना वेदना गाउँथे–

नकराऊ वनको न्याउली
तिमीभन्दा म छु नि वैरागी

यस्तैयस्तै लोकगीतहरू टिप्दै गएँ ।

तपाईंको गीतमा आधरित ‘हाम्रो लोकसंस्कृति’ पुस्तकले त पहिलो मदन पुरस्कार पाउनुभयो नि, होइन ?

हो, पछि यस्तै गीतहरू सङ्ग्रह गरेर ‘हाम्रो लोकसंस्कृति’ तयार पारे र २०१४ सालको मदन पुरस्कार पाएँ । हुन त मैले त्यसलाई जुरेली दर्शन भनेको थिइनँ ।

तपाईंले यति योगदान दिएर जीवनमा के पाउनुभयो ?

मैले जीवनमा कहिल्यै चिन्ता गरिनँ, खालि चिन्तन गरेँ । कुनै बेला गोदवा पाँचौँ पाउन कति धाएँ, ती दिन पनि थिए । र पछि माग्दै नमागी ‘महाउज्जव राष्ट्रदीप’ पनि दिए । समय आउँदो रहेछ । भोलिको किन पीर गर्ने ?

जीवनको सबैभन्दा सुखद क्षण के हो ?

मेरा पुस्तकहरू प्रकाशन भएको दिन पनि सुखद भयो । अनि कर्णली अञ्चलको सिञ्जा उपत्यकामा गएर त्यहाँको अनुसन्धान गरेर मेरो जीवनमा सबैभन्दा सुखद क्षण हुन् । त्यो अनुसन्धान नगरेको भए यो सत्यमोहन जोशी नै हुने थिएन । मेरो नेतृत्वमा हामी पाँच जना थियौँ– संस्कृति मानवशास्त्री, विहारीकृष्ण श्रेष्ठ, भाषाविद् चूडामणि बन्धु, भूगोलविद् सिरजङ्बहादुर सिंह, लोक–संस्कृतिविद् प्रदीप रिमाल र म । हामीले पाँचजनाले लेखेको पाँचवटा पुस्तक मैले पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन गर्ने व्यवस्था मिलाएँ । यी पुस्तकले २०२९ सालको मदन पुरस्कार संयुक्तरूपमा पाए । यो मेरो तेस्रो मदन पुरस्कार थियो । त्योभन्दा सुखद र आन्दको क्षण मेरो जीवनमा अर्को छैन ।

जीवनमा सबैभन्दा दुखद क्षण के हो ?

पिताजीको पालाका घरायसी अवस्था धेरै दुखद थियो । जेठो छोरो भएकाले मेरा धेरै जिम्मेवारी थिए । अरू पनि छन् दुःखका क्षणहरू त । दुःख भनेको पनि ऊँटले काडा चबाएजस्तै हो, उसलाई दुख्दैन हामीलाई दुख्छ । सुँगुरले गुहु खान्छ, उसलाई त्यो नै सुख हो । भो छाडौँ, दुःखको कुरा नगरौँ । अहिले आएर ‘जुरेली दर्शन’ ले ती सारा दुःखहरू पखालिदिए । समग्रमा आजसम्म मैले बुझेको दर्शन हो– ‘केवलम् बोध मात्रम्’ । जान्नुबाहेक केही छैन ।

भिडीयो हेर्नुहोस् ।