सामर्थ्य - Aksharang
  • २०७७ असार २४ बुधबार

सामर्थ्य

ध्रुव सापकोटा

त्यो मान्छे ज्याद्रो नै हो । तिनको पसलमा केही दिनदेखि आइरहेको छ । ग्राहक कम भएको मौका पारेर आउँछ । घन्टौँ बस्छ । पहिले त उभिरहन्थ्यो । पछि तिनले नै उसलाई बस्ने ठाउँ दिइन् । त्यो मान्छे आफन्त होइन । आफन्तजस्तै हुनथालेको छ । तिनको जीवनको बारेमा चासो राख्न थालेको छ । दाउ हेरेको त होइन ?

‘तपाईको श्रीमान त देख्दिनँ ।’ त्यो भन्छ ।

‘म एकल महिला ।’ तिनी भन्छिन् ।

‘मैले त कल्पना नै नगरेको । कति भयो ?’

‘पाँच वर्ष ।’

‘उहाँलाई के भयो ?’

‘हृदयघात ।’

‘उहाँ मरेकोमा तपाईलाई दुःख लाग्यो होला ?’

‘छैन । पटक्कै छैन ।’

‘लौ तपार्इंले त मलाई छक्कै पार्नुभयो ।’

‘मलाई बढो दुःख दिन्थ्यो । कुट्थ्यो । चोटपटक नलागेको दिन नै हुँदैनथ्यो ।’

‘कसरी त त्यस्तो क्रूर ?’

‘राति सधैँ रक्सी खाएर आउने र कुट्ने ।’

‘त्यस्तो मान्छेसँग जीवन बिताउन कति कष्ट भयो होला ?’

‘भयो नि ! हर दिन रोएर नै बसियो । जीवन नै नरक भयो ।’

‘धन्न तपाईंले आत्महत्या गर्नुभएन छ ।’

‘किन मैले आत्महत्या गर्ने ? अपराध गर्ने ऊ । सजाय भोग्ने म ?’

‘आँटिली महिला हुनुहुँदोरहेछ । छोराछोरी कति छन् ?’

‘एउटी छोरी छे ।’

‘त्यो छोरी खोई त ?’

‘छोरी यहाँ छैन ।’

‘कहाँ छिन त ?’

‘छोरी त अष्ट्रेलियामा छे ।’

‘यो त राम्रो भयो । बिहे गर्न बाँकी होला ?’

‘अब त्यो झन्झट पनि छैन ।’

‘कसरी त ?’

‘पहिले छोरीले प्रेम गरेको केटा अष्ट्रेलिया गयो । त्यसले छोरीलाई बोलायो ।

पछि छोरीले त्यही केटासँग बिहे गरेको जानकारी दिई ।’

‘अब तपाई एक्लै ?’

‘हो । एक्लै । अब के गर्ने त ?’

‘यो व्यवसाय लोग्नेले स्थापना गरेका होे ?’

‘होइन । उसको त चिया पसल थियो ।’

‘त्योचाहिँ किन चलाउनु भएन त ?’

‘मलाई लोग्नेको त्यो बाटो हिँड्न मन लागेन । मलाई आफ्नो बाटो आफैँ बनाउने इच्छा जाग्यो ।’

‘लोग्नेको व्यवसायभन्दा यो सजिलो छ ?’
‘सजिलो नै भन्नु प¥यो । राति तीन बजे उठेर सामान लिन जानुपर्छ ।’
‘यो नै सजिलो हो भने गाह्रो के होे त ?’

‘तपाईं जस्तालाई मैले व्याख्या गर्न पर्छ र भनेको ?’

‘मैले त सोचेको थिएँ थोक बिक्रेताले सामान यहीँ ल्याएर दिन्छ । तपाईहरूले बसीबसी व्यापार गर्ने हो ।’

‘हामी त समूहमा ठाउँमा नै जान्छौँ र समान ल्याउँछौँ ।’

‘यो तपार्इंहरूको व्यापारको रहस्य मलाई थाहा थिएन । यहाँ त तपार्इंहरू बसीबसी व्यापार गर्ने हो र ग्राहकलाई ठग्ने हो । तपार्इंहरूको सुर ठग्ने मात्र हुन्छ ।’

त्यो मान्छेको वचनबाट तिनी क्रोधित हुनुपर्ने । भइनन् । दुःखको आरनमा तिनी खरिएकी थिइन् । बीसौँ वर्ष लोग्नेले चुट्दा–चुट्दा र गाली गरेकाले यस्ता कुराले छुँदैन ।

त्यो मान्छेले ठग्ने सुरको कुरा ग¥यो । तिनको खाटा बसेको घाउलाई कोट्यायो । दिउँसोको समय थियो । पसलमा ग्राहकहरू थिएनन् । तिनी एक्लै थिइन् । एउटा मोटरसाइकल तिनको सामुन्नेमा रोकियो । तिनी व्यापारको कखरा सिक्दै थिइन् । त्यसले हेलमेट फुकाल्यो । तिनलाई हे¥यो । हेर्न लायक थिइन् । आकर्षण हराइसकेको थिएन । लोग्ने जीवित हुँदा जुन किसिमको शृङ्गार गर्थिन्, जुन किसिमका लुगाहरू लगाउँथिन, त्यसमा परिवर्तन गरेकी थिइनन् । पहिले जुन किसिमको लिपिस्टिक प्रयोग गर्थिन्, अहिले पनि त्यही ब्रान्डको प्रयोग गरेकी थिइन् ।

‘लोभलाग्दो । ताजा ।’ त्यसले भन्यो ।

‘के ?’ तिनले प्रश्न गरिन् ।

‘सामानहरू ।’ भन्न त अर्कै खोजेको थियो । आँट गरेन । तिनको पसलमा टोकरीमा थरीथरीका सामान थिए । उसले धेरै थरीका सामान आदेश ग¥यो । सबै सामान एउटा ठूलो झोलामा राख्न लगायो । एक मुष्ट मूल्य सोध्यो ।
‘यी सामान यही राखिदिनोस् । म एउटा काम सकेर आउँछु ।’ त्यसले भन्यो । त्यो मान्छे जसरी आएको थियो, त्यसरी नै गयो ।

तिनले यो ब्यापार थालनी गरेयता मोलमोलाइ नगरी सामान खरिद गर्ने यो पहिलो व्यक्ति थियो । तिनी सामानको मूल्य सय भन्थिन् । ग्राहक पचहत्तर भन्थ्यो । तिनी पन्चानब्बेमा झर्थिन् । ग्राहक अस्सीमा उक्लन्थ्यो । तिनी नब्बेमा झर्थिन् । ग्राहक पचासीमा उक्लन्थ्यो । तिनलाई घेरै मुनाफा खानु थिएन । सामानको मूल्य यही कतै तय हुन्थ्यो । यो तिनको स्वविवेकमा भर पथ्र्यो । कहिले अलि मात्र नाफा हुन्थ्यो । त्यो मान्छे यो किसिमको मूल्यको खेलमा उत्रेन । एकमुष्ट मूल्य भन्दा तिनी डराएकी थिइन् । तिनलाई लागेको थियो, एकमुष्ट मूल्य सोध्नेले घटाउँदा पनि एकमुष्ट नै घटाउने छ । सामानको न्यूनतम मूल्य राखेकी थिइन् । घटाउने अवस्था कम थियो । यो मोटो ग्राहक हो । यसमा शङ्का छैन । यो भलादमी ग्राहक हो । यसमा पनि शङ्का थिएन । यो ग्राहक पल्केमा आफ्नो व्यवसाय चल्ने थियो । कसरी त्यसलाई पल्काउने ? यस्तै खाले स्थायी ग्राहक भएमा तिनकोे व्यवसायले गति लिने थियो । एउटा सपनाको बीउ त्यो मान्छेले रोपेर गएको छ ।

ग्राहकको चहलपहल बढेको छ । त्यो ज्याद्रो चुप लागेको छ । उज्यालो ओर्लिरहेको छ । त्यो मोटो ग्राहकले सामान नओगटेको भए अहिले त्यो सामान पनि सखाप हुने थियो । त्यही घुइँचोमा अघिको मोटरसाइकल तिनको सामुन्नेमा रोकिन्छ ।

‘ल्याउनोस मेरो सामान !’ त्यो व्यक्ति भन्छ । छुट्याएर राखेको सामान उसको सामुन्नेमा राख्छिन् ।

‘मसँग खुद्रा छैन । के गर्ने ?’ त्यो ग्राहक भन्छ ।

‘हजार–हजार मात्र छ ।’ त्यो भन्छ । तिनी पैसा राख्ने थैलीबाट रकम गन्न थाल्छिन् । सामानको मूल्य कटाएर बाँकी रहेको थोरै रकम फिर्ता गर्छिन् । त्यसले रकम गनेन । खल्तीमा राख्यो । तिनले दिएको सामान मोटरसाइकलमा झुन्ड्यायो । मोटरसाइकल चलायो र हिँडयो । ग्राहकहरू तिनको पसलमा झुम्मिएका थिए । तिनीहरूले छनोट गरेको सामान जोख्नमा र रकम हिसाब गर्नमा नै तिनी व्यस्त थिइन् । तिनीहरूले तिरेको रकम थैलीमा राख्दा तिनी झल्याँस्स भइन् । हजारको नोट थैलोमा थिएन । यतउता छामछुम गरिन् । त्यसले मुखले मात्र हजार–हजार भनेको थियो । तिनीसँग सामान र रकम दुबै लियो । दोहोरो मारमा तिनी परेकी थिइन् । पसल त्यसै छोडेर ऊ गएको बाटो हेरिन् । कुदिन् । तिनलाई मोटरसाइकलको नम्बर थाहा थिएन । न त्यो व्यक्ति परिचित नै थियो । तिनी रित्तो हात फर्किन् । तिनीसँग पसिना बाँकी थियो । पसिनाको गाढा कमाइ निमेषभरमा हावामा धूँवाझैँ उडेको थियो ।

त्यो दिन घरमा बेस्सरी रोइन् । केही समय अघिसम्म प्राप्त गरेको खुसी दुःखमा परिणत भएको थियो । जहाँबाट सुख बग्छ भन्ठानेकी थिइन्, त्यहीँबाट दुःख बर्सेको थियो । त्यो अपरिचित व्यक्तिलाई तिनले सत्तोसराप गरिन् । अहिलेसम्म पनि त्यो घाउ चसचस्ती दुख्छ ।
संयोग नै भन्नुपर्छ अहिले हजार हात लागेको छ । गुमेको रकम फर्केको छ । फर्काउने मान्छे भने त्यो होइन । त्यो मान्छे त बेइमान थियो । एउटा व्यवसायीको चोखो रकम चम्पत पार्नेलाई के नाम दिने ? मन्त्री ? प्रहरी ? ठेकेदार ? इन्जिनियर ? कि भ्रष्ट कर्मचारी ? त्यसलाई उपयुक्त नाम दिन सकिनन् ।

अहिले तिनको हातमा हजार छ । त्यसै हात परेको । यो हजारको औकात के छ ? एक दिन मन्दिर घुमेर आउन सकिन्छ । नयाँ सिनेमामा खर्च गर्न सकिन्छ । राम्रो होटेलमा एक रातको खाना खान सकिन्छ । तिनले अखबारमा एउटा खबर पढेकी थिइन् । एउटा विदेशीले ट्याक्सीमा दस लाख छुटायो । ट्याक्सी ड्राइभरले त्यो रकम विदेशी बस्ने होटेलमा नै पु¥यायो । विदेशीलाई भेटेर नै त्यसको झोला फिर्ता ग¥यो । मान्छेको आँखा दस लाखमा पनि लाग्दैन । तिनले अहिलेसम्म कति खर्च गरिन् ? हिसाब नै छैन । त्यो जाबो एक हजार ठगिएको महिना दिन बितिसकेको छ । बिर्सन सकेकी छैनन् । त्यो ठगिएको क्षणको एक–एक दृश्य मनमा कैद भएको छ । सिनेमाको रिलझैँ आँखामा आउँछ । त्यो हजारको नोट लाख बनेर सपनामा आउँछ । त्यो हजारको नोट हावामा उडिरहेको छ । समात्न तिनी जान्छिन् । नोट गहिरो खाडलमा खस्छ, तिनी पनि खस्छिन् । हवाईजहाजमा तिनी चडेकी छिन् । ब्याग आफैँसँग राखेकी छिन् । त्यो ब्याग एक्कासि हवाईजहाजबाट खस्छ । तिनी असहाय देखिन्छिन् । त्यो हजारको नोट रूप परिवर्तन गरेर घरिघरि देखापर्छ ।

त्यो पचास भनेर हजार दिने व्यक्ति हाँसीहाँसी गफ गरिरहेको छ ।
‘सुन्नोस् त ।’ तिनी बोलाउँछिन् ।
‘किन नानी ?’ ऊ भन्छ । त्यो मान्छे रोकिन्छ । अकमकाउँछ । न अघि सर्छ न पछि ।

‘तपाईं मेरो पसलमा आउनोस् न !’ ऊ तिनको सामुन्नेमा आउँछ ।
‘यो हजार लिनोस् ! मलाई पचास दिनोस् !!’ तिनी सही थिइन् । उसको खल्तीबाट पचास निस्कियो । हजार गायब थियो । तिनीहरू रकम साटासाट गर्छन् ।

‘तपार्इंले अचम्म गर्नुभयो । सजिलोसँग हात परेको लक्ष्मी उम्काउनु भयो । यो समयमा यस्तो ठाउँमा यस्तो मान्छे । मलाई त तत्वज्ञान नै भयो ।’ त्यो भन्छ ।

‘समय दोषी हुँदैन । ठाउँलाई दोष दिन मिल्दैन ।’ तिनी भन्छिन् ।
‘दोषी को त ?’ तिनले भत्काएको तत्वज्ञानको क्षतिपूर्ति माग्यो ।
‘व्यवस्था ।’ तिनले भनिन् । त्यो तत्वज्ञानको स्रोतको बारेमा प्रश्न गरेन । उसले तिनलाई बक्सिस दिन खोज्यो ।

‘मेरो पसलमा किनमेल गर्न आउनोस् । बक्सिस त्यही हुन्छ ।’ तिनले भनिन् ।
तिनको सामुन्नेमा त्यो कठोर वचन बोल्ने मान्छे बसेकै थियो । यी सब कुरो उसलाई भन्नुको अर्थ थिएन ।

‘म त यहाँ ठग्न बसेकी । तपाईंचाहिँ यहाँ के गर्न बसेको ?’ तिनको प्रश्न थियो । तिनको उद्देश्य त्यो मान्छेलाई लज्जित बनाउने थियो । त्यसको जवाफको मतलब थिएन ।
ण्